सुनसरी क्षेत्र नम्बर ४ को मतपरिणाम अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा आइरहेको छ । बुधबार रातिको आधिकारिक ताजा मतपरिणाम अनुसार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ९५ मतले अगाडि छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले पछ्याइरहेका छन्। परिणामअनुसार कार्कीले २८ हजार १६६ मत र कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । अब मत गन्न बाँकी दुई वटा वडा छन् । ती वडा बराहक्षेत्र नगरपालिका १० र कोसी गाउँपालिका ६ को हो ।
ती दुबै वडामा पाँच हजार ८ सय मत गन्न बाँकी छ । बराहक्षेत्र १० वडा कार्कीको पकडक्षेत्र मानिएको छ भने कोसी गाउँपालिका ६ कुसियैतको आधारक्षेत्र मानिन्छ । एमाले उम्मेदवारले भने अहिले कुसियैत र कार्कीबीच एक मतको अन्तर रहेको दाबी गरेका छन् । यो दाबी कुसियैत पक्षको हो ।
कुसियैतका अनुसार कार्कीको २७ हजार ३७२ मत आएको छ। ‘मेरो २७ हजार ३७१ आएको छ,’ कुसियैतले नवपथसँग भने । तर, जिल्लास्थित निर्वाचन आयोगका कर्मचारी, प्रशासन र प्रहरीले अहिलेसम्म कार्की ९५ मतले अगाडि रहेको बताइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार राति साढे ८ बजे कार्की कुसियैतभन्दा ९५ मतले नै अगाडि छन्। आयोगले पछिल्लो मतपरिणाम सार्वजनिक गरेको छैन । त्यसअघि कार्की १३६ मतले कुसियैतसँग अगाडि थिए । मतगणना जारी रहँदा कुसियैतले मतान्तर घटाएका थिए ।
कानुनमन्त्रीसमेत रहेका कार्कीलाई एमाले सुनसरीका संयोजकसमेत रहेका कुसियैतले मतगणनाको सुरूवातदेखि नै टक्कर दिँदै आएका छन् । यही क्रममा शनिबार ९८ मतले अगाडि रहँदा रहँदै कार्कीपक्षले मतगणनामा बखेडा झिकेका थिए ।
शुक्रबार राति निर्वाचन आयोगका कर्मचारीले एमाले उम्मेदवार कुसियैतको पक्षमा त्यतिकै ५ सय मत बढाइदिएको आरोप कार्कीपक्षले लगाएका थिए ।
यो विवाद बढ्दैजाँदा तीन दिन मतगणना प्रभावित भएको थियो । सर्वदलीय बैठकले निर्णय लिन नसकेपछि निर्वाचन आयोगले यथाअवस्थामा मतगणना गर्न निर्देशन दिएपछि मंगलबारदेखि गणना सुरू भएको थियो । त्यसयता जारी गणनामा कार्कीले अग्रता भने लिइरहेका छन् ।
कार्की प्रतिनिधिसभा निर्वाचन २०७४ मा सुनसरी ४ बाट निर्वाचित भएका थिए । भोजपुरबाट निर्वाचन क्षेत्र बदल्दै सुनसरी आएका कार्कीले २०७४ सालमा निर्वाचन जिते पनि यसपालि कुसियैतले कडा चुनौती दिइरहेका छन् ।
कुसियैत २०७४ सालमा प्रदेशसभा १ मा सांसद चुनिँदै झन्डै तीन वर्ष मन्त्री भएका थिए ।




















प्रतिक्रिया