काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सप्तरी–२ का नवनिर्वाचति प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सीके) राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् । जनताले परिवर्तनको मोहलाई मतमार्फत् व्यक्त गरेका भन्दै उनले अहिलेको निर्वाचनले जनतामा थोरै भएपनि आशा जगाउने काम गरेको बताए ।
नवनिर्वाचित सांसद राउतलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो । तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ,’ उनले भने, ‘सप्तरीका जनताले मलाई जिताएर राजनीतिमा आशा जगाउने काम गर्नुभएको छ । म भोलि देशप्रतिको प्रेम जगाउन सकुँ एउटा योग्य मान्छे, अमेरिका र युरोप छोडेर नेपाल फर्किएर जन्मभूमिको सेवा गर्छु भनेर हिम्मत गर्न सक्ने अवस्था बनाउन सकौँ, त्यो बेला तपाईहरूको मतको सदुपयोग भयो भनेर बुझ्नुहोला ।’
राउतले आफ्ना एजेण्डा र योजनाहरूमा सधैँ प्रतिवद्ध भएर अघि बढ्ने पनि बताउका छन् । ‘हाम्रो पार्टी भर्खरै खुलेको हो, तर देशभर नै नयाँ लहर देखिएको छ, जनताले जनमत पार्टीलाई मत दिएर राष्ट्रिय पार्टी बनाएका छन्,’ उनले भने, ‘हामी आफ्ना एजेण्डामा अडिग रहनेछौँ । योजनाहरूप्रति प्रतिवद्ध रहनेछौँ ।’




















प्रतिक्रिया