राज्यलाई पटक्कै नमान्नेहरूलाई, राज्यबाट लिन मात्रै जान्ने तर दिन पटक्कै नजान्नेहरूलाई राज्यले बारम्बार प्रश्रय दिइराखेकै छ । जसले निरन्तर राज्यलाई दिइरहे । पसिनाले यो धर्तीलाई सिञ्चन गरिरहे, उनीहरू नै सदियौँदेखि किनारीकृत भएर बाँच्न विवश छन् । सत्य यही हो । यही सत्य देखेको, भोगेको विषय उठाएर युवा कवि महेश कार्की क्षितिजले आफ्नो नविनतम् कविताकृति एक्लो महारथी ल्याएका छन् ।
सबैले भन्दै आए साहित्यकारहरू भनेका सदैव प्रतिपक्षी हुन्छन् । अर्थात् साहित्यकारले कहिल्यै सत्ताका तर चाटेकाहरूका पक्षमा लेख्दैनन् । उनीहरूले त श्रमजीवीहरूको हृदयाकाशमा गुम्सिएर रहेका दुःख पीडा र वेदनाहरूलाई लक्षणा र व्यञ्जनाका तहबाट प्रस्तुत गर्दै विद्रोहको स्वर बोल्छन् । यो हामीले पढ्दै आएको चर्को भावुकताको कुरा भयो । वास्तवमा वर्तमान साहित्यकारहरू त्यस्तै छन् त ? विल्कुल छैनन् । अहिलेका साहित्यकारहरू सत्ताको भर्याङमा आफ्ना कलमका निबहरू तिखारिरहेका भेटिन्छन् । पार्टीका साहित्यिक ब्रान्चहरूमा तँछाडमछाडका साथ भित्रिरहेका र बाहिरिरहेका भेटिन्छन् । यस्तो परिस्थितिमा भुँइमान्छेका पक्षमा कविता लेखेर आफूलाई पृथक देखाइरहेका कवि महेश क्षितिजको कविता सङ्ग्रह एक्लो महारथीमा आम सर्वसाधारणको भाषा मुखरित भएको देखिन्छ ।
छातीको देश देखाएर जब म सालिकहरूसँग रोएँ
तब सालिकहरूले भो,
हामीसँग रोए जसरी
सरकारको ढोकामा गएर रुने काम नगर ।
(आतङ्ककारी मृत्युवरण, पृ. ३)
नपछ्याउनू तिनीहरूले हिँडेको बाटो
तिम्रो भोक त
तिमीजस्तै निर्दोषहरूको साझा भोक पो हुनुपर्छ
तिमीहरूले आफ्नै पखेटाले उँड्न नपाउनु ?
(अर्को महाभारत, पृ. ७८)
एकाध मिथकीय पात्रहरूलाई छाड्ने हो भने एक्लो महारथीमा सरल भाषामा आम मान्छेले बुझ्न सक्ने अर्थात् आफ्नै पात्रले पनि राम्ररी बुझ्नसक्ने गरी कविताको प्लट बुनिएको छ । जीवन दर्शनलाई ग्राम्य भाषामा प्रस्तुत गरिएको छ । कवितामा पूर्वतिरको नेपाली लवजको मिठासलाई महसुस गर्न सकिन्छ ।
कवि कवितामार्फत् भुइँमान्छेका कथा बोलेर समतामूलक समाज निर्माणको अपेक्षा गर्दै विद्रोहको स्वर निकाल्छन् । भन्छन्, बरु अर्को महाभारत हुन्छ, तर किनारीकृतहरूको पनि दिन आउनुपर्छ । यो सुन्दर संसार सबैको साझा हो । कोही मालिक र मजदूर आफैँ बनेका हेइनन् । बनाइएका मात्रै हुन् । सहनुको सीमा नाघेपछि हुने बिस्फोटले आफन्त र पराई, धनी र गरिब, गाउँले र सहरिया, पढेको र नपढेको केही पनि हेर्दैन भन्ने आशय कवितामा प्रस्तुत भएको छ ।
राहत बाँडेको खुसीमा सरकारले बनायो विज्ञप्ति
छापिए ठूला ब्रोडसिटमा समाचार पनि
हामीले भोगिरहेको त्यो सङ्कटको प्रतिबिम्ब
आफ्नो अनुहारअगाडि राखेर हेर्नेहरूले
के देखे ? देशको अनुहार त देखेनन् पक्कै ।
उनीहरूलाई लागेको हुनसक्छ
किनाराका मान्छेहरू
हरेक वर्ष हिउँद र बर्खामा ठट्टा गर्ने गर्छन् ।
(देशको अनुहार, पृ. ४०)
समाज विकासको क्रमलाई जरैदेखि नियाल्दा जहिले पनि समाजमा विभेद विद्यमान छ । जातको नाममा होस् या धर्मको नाममा । वर्गको नाममा होस् या वर्णको नाममा । लिङ्गको नाममा होस् या भूगोलको नाममा । या अन्य ने सुकै नाम दिए पनि हेप्नेले हेपेकै छन् र हेपिनेहरू हेपिएकै छन् । अरूबाट हेपिएर बाँच्न कति कठिन छ भन्ने कुरा केबल हेपिनेहरूलाई मात्रै थाहा हुन्छ । त्यही हेपिनेहरूका आवाज कृतिमा कविताको स्वरूपमा आएको छ ।
महेश कार्कीका कवितामा लैङ्गिक विभेदका विरुद्ध पनि बोलेको छ । पुराण, इतिहासदेखि नै महिलाई हेय पात्रको रूपमा चरित्र चित्रण गरिएको विषयलाई मिथकीय बिम्ब ल्याएर नै उनले व्यङ्ग्य गरेका छन् ।
पीपल र तुलसीलाई
प्रतीक मानेर विष्णुको
हरेक बिहान
हजुरले पूजा गर्दै अचाएको पानीले
जोगाउँछ हो
सतित्व डगाउने विष्णुहरूको छलछाम ?
(आफ्नै कथाको प्रतिध्वनि, पृ. ८)
कहिलेकाहीँ धेरै कुराहरू भन्छु भन्दाभन्दै भन्न खोजेका मुख्य कुराहरू छुटेर जान्छन् । केही कविताहरूको सन्दर्भमा यहाँ यस्तै समस्याहरू देखा परेका छन् । सप्ताह पुराणहरूमा पुराण बाचक जस्तै कतिपय कविताहरूमा लेखक कथा बाचक बनेर देखा परेका छन् । कतिपय ठाउँमा अनावश्यक रूपमा क्रियापदलाई सुरुमै प्रयोग गरिएको जस्तो भान पनि हुन्छ । यी र यस्ता केही सीमितताहरूलाई नजरअन्दाज गर्ने हो भने एक्लो महारथी सुन्दर कविता कृति हो ।
कविता लेख्नु वास्तवमै सहज छैन । कविता भनेर लेखिएका सबै पनि कहाँ कविता हुन्छन् र ? कवितामा साँच्चै कविता लेखेका कवि महेश कार्की क्षितिजले एक्लो महारथी कृतिबाट आफूलाई सबाल्टर्नहरूका अब्बल सारथि सावित गर्ने कोसिस गरेका छन् ।
विधा : कविता
पृष्ठ : ९१
मूल्य : २५०
प्रकाशक : शिखाबुक्स
















प्रतिक्रिया