Logo

खेलकुद

आईसीसी विश्वकप खेल्ने नेपालकाे सपना करिब सकियाे, एकदिवसीय मान्यता जोगाउनै सकस



काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डसँग पुन: पराजित भएको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो । स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ तथा जर्ज मुन्सिले ४५ रन बनाए । कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे ।

नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए । यसअघि आइतबार भएकाे खेलमा पनि नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएकाे थियाे । यस्तै नामिबियासँ एक खेलमा अंक बाड्याे भने बुधबार भएकाे अर्काे खेलमा नामिबियासँग ८६ रनले पराजित हुन पुग्याे । यस पटक समग्रमा ४ खेल खेलेकाे नेपालले जितविहीन रह्याे ।

७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ। नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । यस हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि अबका बाँकी रहेका १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १९:१९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।