काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग निष्प्रभावी हुने भनी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।
यो संवैधानिक इजलासले संघीय संसदका महासचिव गौतमले प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग निष्प्रभावी भएको भन्दै थमाएको पत्रविरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए ।
त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए । यसको पेशी तोकिएको छ र केहीबेरमा सुनुवाइ सुरु हुने छ । महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कावनुन व्यसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् ।
नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनको अगुवाइमा आज पनि कानुन व्यवसायीहरु धर्नामा बस्ने तयारीमा छन् । कुनै अप्रिय घटना नहोस् भनेर सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।




















प्रतिक्रिया