काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग निष्प्रभावी हुने भनी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ ।
रिट सुनुवाइका लागि कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलास गठन भएको छ । यही इजलासमा सुनुवाइ सुरु भएको हो ।
रिटमा बहसका लागि ५० जनाको वकालतनामा परेको तर बढीमा ५ जनाले बहस गरेर चिया समय अगाडि नै सकाउने गरी तयारी गरिएको छ ।
संघीय संसदका महासचिव गौतमले प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग निष्प्रभावी भएको भन्दै थमाएको पत्रविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए ।
महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कावनुन व्यसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् ।
नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनको अगुवाइमा आज पनि कानुन व्यवसायीहरु धर्नामा छन् । कुनै अप्रिय घटना नहोस् भनेर सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।




















प्रतिक्रिया