काठमाडाैं । प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथि लगाइएकाे महाअभियाेग निष्प्रभावी भएकाे भन्दै संघीय संसद्का महासचिव भरतराज गाैतमले निलम्बनकाे पत्र थमाएपछि याे विषय पुन: चर्चामा रह्याे ।
जबरामाथि लगाइएकाे महाअभियाेगकाे अन्तिम टुंगाे लागि नसक्दै संसद्काे कार्यकाल सकिएपछि उक्त महाअभियाेग निष्प्रभावी भएकाे भनेर संसद्का महासचिव गाैतमले पत्र दिएपछि यसविरुद्ध कानुनविद्हरु पुन: सडकमा उत्रिए भने सर्वाेच्च अदालतमा रिटसमेत दायर भयाे ।
उक्त रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले पत्र कार्यान्वयन नगर्न आदेश दिइसकेकाे छ । याेसँगै जबराकाे ‘कम ब्याक’ हुने अर्काे प्रयास असफल भएकाे छ । गाैतमले जबरालाई दिएकाे पत्र अवैधानिक भएकाे र सर्वाेच्चकाे आदेशबाट पनि याे थप पुष्टि भएकाे कानुनविद्हरुकाे दाबी छ ।
तर वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले भने प्रधानन्यायाधीश जबरामाथिकाे महाअभियाेग प्रकणमा थुप्रै कानुनी त्रुटि भएकाे जिकिर गरेका छन् । एकजना कर्मचारीले कानूनी आधारविना निलम्वनकाे जानकारी गराएकाे भन्दै उनले जबरा अहिले निलम्बनमै नरहेकाे दाबी गरेका छन् ।
जबरा प्रकणमा वरिष्ठ अधिवक्ता श्रेष्ठकाे नजरमा यी हुन् कानुनी विवाद तथा त्रुटि
१. संघीय संसदका महासचिव डा. भरत राज गौतमको मिति २०७९/०८/२१ को जानकारी पत्रको श्रोत निजै महासचिवको मिति २०७८ /११/०१ को प्रधान न्यायाधीशलाई निलम्वनमा राख्ने सम्वन्धमा जारी भएको पत्र हो । उल्लिखित दुवै जानकारी पत्रहरुले जन्माएको कानूनी प्रश्नहरुमा प्रवेश गर्नु पूर्व निलम्बनका सम्बन्धमा वाध्यत्मक रुपमा अवलम्ब गरिनु पर्ने संविधानको धारा १०१ र यस अन्तर्गतका प्रावधानहरुको अनुसरण नगरिएको समेतका कारणबाट महाअभियोगसम्बन्धी कारबाहीको उठान र निलम्वनको कारवाहीमा गम्भीर संवैधानिक र कानूनी त्रुटिहरु विद्यमान रहि महाअभियोगको कारवाही प्रभावित हुने अवस्थामा पुर्याईएको भन्ने मेरो अडान यथावत छ।
२. संघीय संसदका महासचिवबाट निलम्वन र निलम्वन फुकुवा सम्वन्धमा जानकारी गराइएको उल्लिखित दुई भिन्न पत्रहरुमा कानूनी बल र आधारहरु छैनन्। प्रधान न्यायाधीशलाई निलम्वनको जानकारी गराउने कुनै पनि निर्णय संघीय संसद् कायम हुँदाको अवस्थासम्ममा संघीय सभाबाट भएकै छैन, संघीय संसद सभाको निर्णयले मात्र निलम्वनको कारवाही हुन सक्ने हो। तर त्यस्तो निर्णय वेगर एकजना कर्मचारीले कानूनी आधार वेगर जानकारी गराएको निलम्वन पत्रलाई नै संविधान, कानून र स्थापित न्यायिक पद्धति, मूल्य र मान्यताकै खिल्ली उडाउने गरी देवत्वकरण गरियो र देशको प्रधान न्यायाधीशलाई वलात निलम्वनमा राखियो। यो अकल्पनीय राजनीतिक र न्यायिक ईतिहासमा धब्बा लगाउने कुकृत्यका लागि राजनीतिक दल, नेताहरु र विशेष गरी सिण्डीकेट संचालक राजनीतिक र कानून कर्मीहरुलाई ईतिहासले जिम्मेदार ठहर्याउने छ।
उल्लिखित महासचिव वाट जारी भएको निलम्वनको पत्र नै अवैधानिक भएकाले समेत विधि र प्रकृया मान्ने जो कसैले पनि प्रधान न्यायधीश निलम्वनमा नरहि कानून बमोजिम पदमा बाहालरहि नै रहेको भन्ने मान्नु पर्ने हुन्छ, यसर्थमा प्रधान न्यायाधीश अहिलेको अवस्थामा पनि पदमै वहाल छन्। निलम्वनको कारवाही वैधानिक मान्ने जो कोही पनि दाशता र सिण्डीकेटको खेति गरी जीवन यापन गर्नेहरुका लागि अहिले निजै महा सचिवले जारी गरेको फुकुवा पत्रका विरुद्ध विवाद गर्ने ठाउँ नै छैन।
संघीय संसदका महासचिवको उल्लिखित निलम्वन फुकुवा सम्वन्धि पत्रको वैधानिकताको परिक्षण त्यस पूर्व भएको निलम्वन पत्रको वैधानिक परिक्षणवाट मात्र सम्भब छ। यदि पूर्व निलम्वनको पत्रको वैधानिकता तर्फ आँखा चिम्लेर पछिल्लो फुकुवा पत्रमा मात्र कसैवाट वैधानिकताको खोजी गरिन्छ भने त्यस्ले संविधान, विधि, कानूनी प्रकृया र सिद्धान्तहरु समेतको उपहास मात्रै होईन, वलात्कार नै गरेको ठहर जो कोही पनि कानूनको शासनका हिमायति सभ्य सचेत राष्ट्रवादी नेपालीहरु मात्र नभएर सम्पूर्ण मानव जगतले नै गर्ने छन् ।




















प्रतिक्रिया