Logo

प्रमुख समाचार

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी विनु कांग्रेसको समानुपातिक सांसद



काठमाडौं । नेपाली कांग्रेसले कर्जा सूचना केन्द्रको कालो सूचीमा परेकी महिलालाई प्रदेशसभा सांसदमा सिफारिस गरेको छ । केन्द्रले चेक बाउन्समा कालोसूचीमा राखेको विनु रायमाझी (पौडेल)लाई कांग्रेसले बागमती प्रदेशसभातर्फ समानुपतिक सांसदमा सिफारिस गरेको हो ।

चितवनको भरतपुर महानगर–१० की विनुलाई कांग्रेसले प्रदेशतर्फ समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाउँदा खसआर्यतर्फ चौथो नम्बरमा राखेको थियो । उनी केही वर्षअघि भरतपुर कारागारभित्र हत्या गरिएका नेपाल तरुण दलका नेता शिव पौडेलकी पत्नी हुन् । समानुपातिक सांसद चयन गरेर आयोगमा पठाउने अन्तिम दिन शनिबार कांग्रेसले विनुको नाम पठाएको हो ।

विनु साझेदार रहेको बीएमआर कन्ष्ट्रक्सन एण्ड सप्लायर्सले रतन ठाकुरलाई ६१ लाख रूपैयाँको चेक दिएको थियो । तर, खातामा रकम नहुँदा रतनले उनलाई कालोसूचीमा राख्न २०७८ फागुन २७ गते एनसीसी बैंकमा माग गरेका थिए । उक्त कम्पनीको खातामा पर्याप्त रकम नभएपछि कर्जा सूचना केन्द्रले २०७८ फागुन ३० गते कालोसूचीमा राखेको थियो ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकै कारण यसअघि रुपन्देही २ मा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उमेदवारी खारेज भएको थियो ।

कुनै व्यक्ति फर्म, कम्पनी वा संगठित संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात नभई जतिसुकै रकमको चेक जारी गरेमा वा चेक लिने व्यक्तिले चेकमा उल्लेखखित विवरण सही भएको एकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य कुनै कारण चेक फिर्ता भएमा कालोसूचीमा राखिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १२:५१   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।