काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवियत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। विद्यालय जीवन देखिनै राष्ट्रिय नाँचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमन्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् ।
काठमाडौं सितापाइलामा स्वर्गीय पिता लालविक्रम शाह र माता दया देवी शाहकी प्रथम सन्तानको रुपमा जन्मिएकी अनु उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेकी थिइन् । उनले अमेरीकाको नर्थ वेस्टर्न विश्वविध्यालयबाट बालमनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।
सानैदेखि कला क्षेत्रमा प्रवेश गरेकी प्रख्यात श्रष्टा अनु शाहको दुई सयभन्दा बेसी गीतहरु रेकर्ड भइसकेका छन् भने दुइ दर्जन गीतका म्युजिक भिडियोसमेत आफैले निर्माण गरिसकेकी छिन्। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखनसँगै अभिनय र निर्माण पक्षमा समेत उत्तिकै सशक्त भएर नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी छिन् ।
चलचित्र भिमदत्तमा सह–निर्मात्री रहेकी उनले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गरेकी छिन् जुन अहिले प्रदर्शनको पर्खाइमा छन् । साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभई हिन्दी, अंग्रेजी, नेवारी र मैथीली भाषामा पनि थुप्रै गीत र कविता लेखेकी छिन् ।
“कम टेक माई ह्याण्ड, ह्वोइन आईएम फिलिंग डाउन” गायिका शितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो । गीतकार संघको आजीवन सदस्य रहेकी शाह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योति साहित्य प्रतिष्ठानमा लाईफटाइम मेम्बर हुन् भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुन् ।
कला साहित्य विधामा उल्लेखीय योगदान पुर्याउँदै आएकी अनुराधा शाहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा अवार्डहरु हासिल गरिसकेकी छन् । सामाजिक कार्यमा समेत उत्तिकै रुची राख्ने उनले नेपालका धेरै संघ संस्थामा आश्रित असहाय, दुःखी पीडित बेसहाराहरुलाई विदेशमा रहेर पनि सहयोग गर्दै आएकी छन् । प्रवासमा रहेपनि सधैँ नेपाललाई माया गर्ने अनु शाह कला साहित्यकी मुर्धन्य व्यक्तित्व हुन् ।
पेशाले शिक्षिकाको रुपमा कार्यरत उनी व्यस्त समयको बाबजुद पनि नेपाली गीतसंगीत र कला साहित्यमा दरिलो खम्बा बनेर नेपाली सांगीतिक आकाशमा नक्षत्रको रुपमा स्थापित भएकी छन् । उनको लेखन शैली, उनको शब्द चयनदेखि उनको प्रस्तुतिसमेत उत्कृष्ट रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
समग्र नेपाली मनोरञ्जन क्षेत्रमा करडौं लगानी गरेकी गीतकार तथा निर्मात्री अनु शाहलाइ केही संगीतकार, चलचित्र निर्माता, निर्देशकदेखि अन्य केही व्यक्तिहरुले ठगी गरेको बताउँछिन्। उनी भन्छिन्, ‘सुरुमा मिठो र राम्रो–राम्रो कुरा गरी विश्वास दिलाएर काम र पैसा लिन्छन् । पछि कुनै काम समयमा गर्दैनन् । त्यसैले नेपालमा पैसा लगानी गर्नुभन्दा पहिले सोच्नु पर्ने रहेछ ।’ विश्वासको आधारमा लगानी गरेर आफू डुबेको उनी दुखेसो पोख्छिन् ।
थुप्रै कामहरु रोकिरहेको छ, गीत–संगीत र रचनाहरु हराइरहेका छन्, चलचित्र तयार भएर पनि प्रदर्शन गर्न दिएका छैनन्, विभिन्न बहानाबाजीमा झुलाइरहेका छन्। केही संगीतकार र चलचित्रकर्मीहरुले ठगी गरेको उनको आरोप छ। त्यसैले त्यस्ता ठगी गर्ने गिरोहहरुलाई अब कानूनी प्रक्रियामा लैजाने र मिडिया मार्फत उक्त ठग्ने व्यक्ति र काम पूरा नगर्नेहरुको नाम सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताइन् । ‘हामी दुःख गरी पैसा जम्मा गरेर नेपालमा लगानी गर्छौं । तर त्यसको उचित मूल्यांकन र सदुपयोग नहुँदा म जस्ता विदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले पीडा भोग्नु परेको छ’, उनी भन्छिन् ।
नेपाल आउँदा र अमेरिका रहँदासमेत सधैँ गीत–संगीत, चलचित्र र साहित्यमा लगानी गर्ने बहुप्रतिभाशाली व्यक्तित्व अनु शाहको केही साहित्यिक पुस्तक, म्युजिक भिडियो र चलचित्र आउन लागेको उनले जानकारी पनि गराइन् ।





















प्रतिक्रिया