काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ । मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।
माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ । वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ । एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई मिलेर जान दवाब दिइरहेका छन् ।
एमाले पोलिब्यूरो सदस्य महेश बस्नेतले गत साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर एमाले–माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका थिए । मंगलबार रातिको भेटमा माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग वाम गठबन्धनको विकल्प नभएको र अहिले पनि सरकार गठनमा सहकार्य गर्न सकिने बताएका छन् ।
नेकपा माओवादीका अध्यक्षसँगको बृहत छलफलपछि महासचिव गुरुङ एमाले अध्यक्ष ओलीलाई भेट्न गएका हुन् ।
स्रोतका अनुसार, दुवै पार्टीका दोस्रो तहका नेताहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट गराउने तयारी गरेका छन् । अध्यक्ष ओली निकट एमालेका एक नेताले अन्नपूर्णसँग भने,‘दुवै पार्टीका अध्यक्षहरुलाई भेट गराउने वातावरण मिलाइरहेका छौं । ओली र प्रचण्डबीच छिट्टै भेटवार्ता हुन्छ ।’
‘दुवै अध्यक्षहरु विगतमा भएका गल्ती कमजोरी सच्याएर अघि बढ्न तयारी देखिनु भएको छ’, ती नेताले अन्नपूर्णसँग भने, ‘अहिले दुवै अध्यक्ष लचक देखिनु भएको छ । मुलुकको दीर्घकालिन विकासका लागि वाम एकता र कम्युनिष्ट सरकार अपरिहार्य रहेको दुवै नेताले महसुस गर्नुभएको छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको बृहत छलफलपछि महासचिव गुरुङ एमाले अध्यक्ष ओलीलाई भेट्न गएको माओवादी केन्द्रका एक नेताले अन्नपूर्णलाई जानकारी दिए । ओली-गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीच केही साना दलको साथमा एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउन सकिने सम्भावनाबारे छलफल भएको थियो । ओली र गुरुङबीच मंगलबार राती ९ बजेदेखि झण्डै दुई घण्टा पछिल्लो समयमा देखिएका भूराजनीतिक परिस्थिति, सत्ता समीकरण र वाम गठबन्धनका विषयमा गहन छलफल भएको छ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीचको भेटलाई उनीहरु निकटका फरक-फरक नेताहरुले पुष्टि गरेका छन् ।
संसदमा नेकपा एमालेले समानुपातिक र प्रत्यक्ष गरी ७८ सिट, माओवादी केन्द्रको समानुपातिक र प्रत्यक्ष गरी ३२ सिट ल्याएको छन् । प्रचण्ड पछिल्लो समयमा साना र स्वतन्त्रबाट निर्वाचित सांसदसँग पनि सत्ता समिकरणबारे निरन्तर संवादमा छन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।





















प्रतिक्रिया