काठमाडौं । १३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशन सकिएको छ । आइतबारदेखि सुरू भएर ३ दिनसम्म काठमाडौंमा चलेको महाधिवेशनले ‘समृद्ध नेपालको आधार : सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराका साथ महाधिवेशन सम्पन्न गरेको हो । महाधिवेशनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने राष्ट्रिय समन्वय परिषद् तत्काल गठन गरी बैठक बोलाउन आग्रह गरेको छ । संविधान तथा कानूनको व्यवस्था र मर्म अनुसार अन्तरसरकार समन्वयलाई समृद्ध गर्न, संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय समन्वय परिषद् गठन हुने व्यवस्था छ ।
यस्तै अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद्, प्रदेश समन्वय परिषद् तथा विषयगत समितिलाई तत्काल तत्काल सक्रिय पार्न र नियमित रुपमा बैठक सञ्चालन गर्न पनि माग गरिएको छ । राष्ट्रिय समन्वय परिषद्लगायत सबै संस्थागत संरचनामा स्थानीय तहको प्रतिनिधित्व छनौट गर्दा स्थानीय तहका सम्बन्धति संघ तथा महास.घको सिफारिस बमोजिम मात्र गर्न पनि सुझाव दिएको छ ।
महाधिवेशनले नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भएका छन् भने महासचिवमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन् । अध्यक्ष पाण्डे र उपाध्यक्ष शाही नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् भने महासचिव थापा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।
यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यष पार्वती सुनुवार र कोषाध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् । ५ सदस्यी पदाधिकारीमा ३ जना पुरुष चयन भएका छन् भने २ जना महिला चयन भएका छन् । बाँकी ३१ जना सदस्यमा विभिन्न गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन भएका छन् भने एक जना कार्यसमिति सदस्यमा वडा सदस्य पनि चयन भएका छन् । पाल्पाको तिनाउ गाँपालिकाका वडा सदस्य भवानी न्यौपाने कार्यसमिति सदस्य चयन भएकी हुन् ।




















प्रतिक्रिया