Logo

समाचार

वीरगंज–२६ अठराहाँमा देखिएको रोग ‘चिकेनपक्स’ भएको पुष्टि



वीरगंज । वीरगंज महानगरपालिका–२६ अठराहाँमा दादुरा र रुबेला जस्तै लक्षण देखिएका बिरामीमा ‘चिकेनपक्स’ ठेउलाको संक्रमण पुष्टि भएको छ । दादुरा र रुबेलाको लक्षणसँग मिल्दोजुल्दो बिरामी देखिएको खबर आएसँगै महानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाबाट ल्याबसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ देखिएका बिरामीमा चिकेनपक्सको संक्रमित भएको पुष्टि गरेको हो ।

चिकेन पक्स सरुवा रोग भएको र यो हरेक वर्ष जसो छिटफुट व्यक्तिमा देखिने गरेको महानगरका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले जानकारी दिए । ‘अठराहाँमा दादुरा र ठेउलाका बिरामी भेटिएको भन्ने खबर आएलगत्तै महानगरको स्वास्थ्यकर्मीको टोली ल्याब सहित पुगेर बिरामीको स्क्रिनिङ, रोगको इतिहास र शारिरीक परीक्षण गर्दा चिकेनपक्स भएको खुल्यो’, उनले भने ।

वडा नम्वर २६ को सुगौली स्वास्थ्यचौकीमा पछिल्लो केही दिनदेखि यस्ता बिरामीहरु उपचारका लागि आउने गरेका थिए । त्यस क्षेत्रमा आज सम्म ९१ जनामा यस्तो लक्षण भएकाहरु उपचारका लागि स्वास्थ्यचौकीमा आएको स्वास्थ्यचौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिइन् ।७५ ज

नामा संक्रमण निको भइसकेको र बाँकी बिरामीको अवस्थापनि सामान्य रहेको उनले बताइन् । ठूलै संख्यामा दादुरा र ठेउलासँग लक्षण मिल्ने बिरामी भेटिएपछि आफूले थप सहयोगका लागि स्वास्थ्य महाशाखामा जानकारी गराएको उनले बताइन् । जानकारी पाएसँगै पुगेको टोलीले घरघरमै पुगेर बिरामीलाई भेट्नुका साथै उनीहरुको स्वास्थ्यअवस्था परीक्षण गरेको थियो ।

चिकेनपक्स विशेष गरेर २ वर्षदेखि १० वर्ष उमेर समुहका बालबालिकामा देखिने गरेको भएपनि यहाँ सबै उमेर समूहका व्यक्तिमा देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १८:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।