Logo

अर्थ

हेटौंडा उपमहानगरको बजेट संशोधन गरेर तीन अर्ब पाँच करोड पुर्‍याइयाे



हटाैंडा । हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटाैंडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पुर्‍याइएको छ ।

हेटाैंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएको हो । गत असारमा सम्पन्न ११औँ नगर परिषद्द्वारा चालू आवका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख बजेट पारित गरिएको थियो ।

तर अघिल्लो आर्थिक वर्षको रु ३७ करोडभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उनले बताए । बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण प्रस्तुत गरिएको थियो ।

चालू आवकोे मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण तथा ससर्त अनुदानतर्फ रु ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ रु ३७ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ रु ६ करोड सात लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट रु ८७ करोड ८७ लाख आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिए ।

साथै उपमहानगरपालिकाले दुई सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौँडा-१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः रु २० लाख र १५ लाख बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो ।

उक्त अवसरमा प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताए ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १५:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।