काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘तमु समुदायले आर्जन गरेको, उनका पुर्खाहरुले आर्जन गरेको, तमु युवायुवतीहरुले आफ्नो वीरतामार्फत आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौं’, प्रधानमन्त्री प्रचण्डले भने । इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि उनले स्पष्ट पारे ।
तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । उनले तमु समुदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गरे ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘तमु ल्होसार निम्ति विगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ,’ उनले भने, ‘म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।’
समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए ।




















प्रतिक्रिया