काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङको दाबी गरिएको छ । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिना सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका छन् ।
सचिन नेपाल टी–ट्वान्टीमा सुरुवात देखिनै आबद्ध छन् । घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सचिन कमेन्ट्री गर्दै आएका व्यक्ति हुन् । ‘धेरै यस्ता क्षण मैदानमा देखेँ, घटनाहरु देखेँ । विल्कुल आश्चार्यजनक देखेँ । अहिलेसम्म नेपाली क्रिकेटमा नदेखेको घटनाहरु देखेँ’, उनले कमेन्ट्री गर्दाको अनुभव बताउँदै भनेका छन्, ‘क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैदानमा देखेँ ।’
सचिनले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भूमिका समेत बदनियतपूर्ण देखिएको बताएका छन् । उनले घटनाबारे क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताएपनि कुनै पहल नभएको गुनासो गरेका छन् । ‘नेपाल टी ट्वान्टी लिग करप्सन र फिक्सरको हातमा गएको छ । यो नेपाली क्रिकेटलाई बिगार्ने महत्वपुर्ण कुरा हो ।’ उनले भनेका छन् ।
क्यान मुख्य आयोजक रहेको नेपाल टी–ट्वान्टी लिग सुरुवात देखिनै विवादमा छ । बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको हो । टिम मालिकलाई समेत गोप्य राखेर सञ्चालन गरिएको प्रतियोगितामा फिक्सिङको आशंका सुरुवातदेखिनै हुँदै आएको थियो । प्रतियोगिताको मध्यान्तरमा आएर कमेन्टेटरले नै यस विषयमा मुख खोलेका छन् ।




















प्रतिक्रिया