काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । प्रतियोगितामा म्याच फिक्सिङ र लाइभ बेटिङ भएको भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका केही खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका छन् । उनले यसबारे आधिकारिक निकायमा रिपोर्टिङ गरिसकेको पनि बताएका छन् ।
यसअघि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सेनाले नेपाल टी–ट्वान्टी लिग फिक्सरको हातमा रहेकाे दाबी गरेका थिए । नेपाल टी–ट्वान्टीमा सुरुवात देखिनै आबद्ध रहेका उनले भनेका छन्, ‘धेरै यस्ता क्षण मैदानमा देखेँ, घटनाहरु देखेँ । विल्कुल आश्चार्यजनक देखेँ । अहिलेसम्म नेपाली क्रिकेटमा नदेखेको घटनाहरु देखेँ । क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैदानमा देखेँ ।’
सचिन् घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सचिन कमेन्ट्री गर्दै आएका व्यक्ति हुन् । उनले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भूमिका समेत बदनियतपूर्ण देखिएको बताएका छन् । उनले घटनाबारे क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताएपनि कुनै पहल नभएको गुनासो गरेका छन् । ‘नेपाल टी ट्वान्टी लिग करप्सन र फिक्सरको हातमा गएको छ । यो नेपाली क्रिकेटलाई बिगार्ने महत्वपुर्ण कुरा हो ।’ उनले भनेका छन् ।
उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिकासमेत छाडेका छन् । उनले भनेका छन्, ‘नेपाल टी–२० लाई कमेन्टेटरका रूपमा नजिक बाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।’
क्यान मुख्य आयोजक रहेको नेपाल टी–ट्वान्टी लिग सुरुवात देखिनै विवादमा छ । बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको हो । टिम मालिकलाई समेत गोप्य राखेर सञ्चालन गरिएको प्रतियोगितामा फिक्सिङको आशंका सुरुवातदेखिनै हुँदै आएको थियो । प्रतियोगिताको मध्यान्तरमा आएर कमेन्टेटरले नै यस विषयमा मुख खोलेका हुन् ।
यसैगरी खेलाडीले पारिश्रमिक नपाएएकाे विवाद पनि छ । विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । यही विवादका कारण मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल केहीबेर रोकिएको समेत थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । मंगलबारसम्म ३४ मध्ये २२ खेल सम्पन्न भइसकेका छन् ।




















प्रतिक्रिया