पाेखरा । संकटा क्लब २२औं संस्करणकाे आहा रारा पोखरा गोल्डकपकाे फाइनलमा प्रवेश गरेको छ । संकटाले गत वर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै फाइनलमा पुगेकाे हाे ।
पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा संकटासँग सशस्त्र सुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्वाटरफाइनलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज रुपमा पन्छाएकाे हाे । एपीएफविरुद्धकाे खेलमा संकटाका दुई अफ्रिकन खेलाडी नायक बने ।
संकटालाई जित दिलाउन विदेशी खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे भने एपीएफका लागि सान्त्वना गोल हरि कार्कीले गरे । संकटा दोश्रो पटक फाइनल प्रवेश गर्दा बिदेशी खेलाडी मेसुके ओलामाउ र स्टेफनको गोल निर्णायक बनेपछि फाइनल यात्रा पक्का भयो ।
खेल सुरु भएको ५ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन ।
खेलको ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्याए । उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई विनागल्ती सुन्दर फिनिसिङ दिएका हुन् ।
७३ औं मिनेटमा एपीएफका हरि कार्कीले एपीएफका लागि सान्त्वता गोल गरे । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटा पासलाई सहजै गोल गरे ।तर, ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई फराकिलो बनाए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा बिहीबार सेमिफाईनल खेल भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाईज युटाईटेडबीच हुने छ ।




















प्रतिक्रिया