Logo

खेलकुद

नेपाल टी–ट्वान्टी लिग : लुम्बिनीलाई हराउँदै जनकपुरले बनायो क्वालिफायरमा स्थान



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टार्स्लाई २३ रनले पराजित गर्दै जनकपुर क्वालिफायरमा प्रवेश गरेको छ ।

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा १६० रनको लक्ष्य दिएको थियो । जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याइएको थियो । १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनायो ।

लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । सुनिल धमला २७ रनमा आउट हुँदा गुलसन झाले अविजित १० रन बनाए । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ तथा समिउल्लाह शिनवारीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए । खडक बोहोरा २२ रनमा आउट हुँदा शमिउल्लाह शिनवारीले २० रन बनाए ।

जनकपुरले अन्तिम पाँच ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ तथा प्याट ब्राउन र इशाान पाण्डेले समान १/१ विकेट लिए ।

हारका बाबजुत दश खेल खेलेर ८ जित तथा २ हार व्यहोरेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ । १० खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर १४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अब लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १३:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।