काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सम्पन्न भइसक्नुपर्ने समयमा पनि दुईवटा मोटरेबल पुलको काम सुरुसमेत नभएपछि स्थानीय सरकारले ताकेता गरेको छ । थुलुङ दुधकोशीको बर्खुघाट र दिप्लीघाटमा मोटरेबल पुल निर्माणको काम अलपत्र पारेपछि पालिका अध्यक्ष असीम राईले ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका हुन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको निर्माण कम्पनी महादेव खिम्ति हिराचन जेभीले ती दुई पुल निर्माणको ठेक्का पारेको तर, सम्पन्न गर्नुपर्ने सयमसम्म पनि थालनीमै विलम्ब गरेपछि अध्यक्ष राईले ताकेता गरेका हुन् ।
विभिन्न माध्यम तथा प्रत्यक्ष भेटेरै पनि ध्यानाकर्षण गराएको उल्लेख गर्दै अध्यक्ष राईले कम्पनीले बुझ पचाइरहेको ठहर गरेका छन् । ‘आयोजना निर्माण भइसक्नुपर्ने अवधि बितिसक्दासमेत काम सुरू नै नगरेको तथा फोन, म्यासेज र प्रत्यक्ष भेटघाट गरेर अनुरोध गर्दासमेत बेवास्ता गरी कम सुरू नगरेको हुनाले तपाईंको ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन् ।
२०७५ असार २४ गते सम्झौता भएको दिप्लीघाट मोटरेबल पुल २०७८ असार २३ भित्र सम्पन्न गर्ने गरी महादेव खिम्ति हिराचन जेभीले १० करोड १८ लाखमा ठेक्का पारेको थियो । तर, आजसम्म सुरूसमेत भएको छैन । यस्तै ३३ महिनाभित्र सम्पन्न गर्ने गरी ११ करोड ६० लाखमा बुर्खघाट पुल निर्माणको जिम्मा पनि सोही कम्पनीले नै पाएको थियो । २०७७ भदौ १० मा सम्झौता भएको उक्त पुल निर्माणको काम पनि अझै सुरु भएको छैन ।




















प्रतिक्रिया