धनगढी । दलहरुबीच पुन: मतदानकाे विषयमा सहमति नजुटेपछि सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित बनेको छ । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुनः मतदान गर्ने समय तोकिएको थियो । तर बिहान बसेको सर्वदलीय बैठकमा पुनः मतदानबारे दलहरुबीच सहमति हुन नसकेकाे हाे ।
त्यसपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरेकाे छ । सर्वदलीय बैठकमा सभामुखको पुनः निर्वाचन र संवैधानिक अड्चनका विषयमा कानूनी परामर्श गर्ने मौखिक समझदारी बनेको बताइएकाे छ ।
संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूले १५ पुसमा पद तथा गोपनियताको सपथ लिएका थिए । उक्त समयअनुसार ३० पुसमा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
यहाँ सभामुखमा सत्तारूढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र कांग्रेस गठबन्धनबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका आवश्यक पर्ने मत ल्याउन सकेका थिएनन् ।





















प्रतिक्रिया