Logo

विविध

आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा कसको ?



इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित मिथिला क्षेत्रमा चार दिनसम्म हर्षोल्लास र निष्ठापूर्वक मनाइने लोकआस्थाको महापर्व छठ विधिवत् रूपमा समापन भएसँगै विभिन्न नदी, पोखरी र जलाशयका घाटमा थुप्रिएको फोहोरले गम्भीर पर्यावरणीय समस्या निम्त्याएको छ ।

आस्थाको प्रतीक मानिने यी जलस्रोतमा पूजाका अवशेष, प्लास्टिकजन्य सामग्री र केराका थाम अलपत्र छाडिएपछि स्थानीय तह र आयोजक समितिको उदासीनतामाथि प्रश्न उठेको छ ।

पर्वका बेलामा दुलही झैँ सिँगारिने इनरुवाका विभिन्न घाट, सुनसरी खोला, बुढी खोला तथा स्थानीय पोखरीमा अहिले प्लास्टिकका झोला, केराका बोट तथा थम, फूल तथा फूल छरपस्ट अवस्थामा थुप्रिएका छन् ।

पर्वको उमङ्ग सकिएसँगै घाट सरसफाइ गर्ने जिम्मेवारीप्रति कसैले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

प्रकृति र जलस्रोतको पूजा गरेर मनाइने छठ पर्वले पर्यावरण संरक्षणको सन्देश दिने भए पनि विसर्जनका नाममा अपनाइएको लापरबाहीले नदी तथा पोखरी प्रदूषित हुने चिन्ता बढाएको स्थानीय अधिकारकर्मी रमेश भट्टराईले बताए ।

‘छठ आस्थाको महापर्व हो, जसले प्रकृतिलाई सम्मान गर्न सिकाउँछ । तर पूजा सकिएपछि घाटलाई फोहोरको डम्पिङ साइट जस्तै छाडेर जानुले हाम्रो सांस्कृतिक चेतना माथि नै प्रश्नचिह्न खडा गरेको छ,’ इनरुवाका अशोक चितलाङगीयाले बताए ।

घाट सरसफाइको प्राथमिक दायित्व स्थानीय सरकारसँगै सरोकारवालाको भए पनि पर्व सकिएको दिनदेखि नै अधिकांश पालिकाका सरसफाइ शाखाले यसप्रति बेवास्ता गर्दै आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार २०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।