काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । शनिबार काठमाडौंमा अयोजित एक कार्यक्रममा उनले मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए ।
‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ प्रधानमन्त्री प्रचण्ड भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु । यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’
प्रतनिधिसिभामा कुनै पनि दलको एकल बहुमत नभएको अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा संसद्मा विश्वासको मत लिएका थिए । त्यसक्रममा संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।




















प्रतिक्रिया