Logo

राजनीति

हरिवंश भन्छन्– डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन पाए…



काठमाडौं । अभिनेता हरिवंश आचार्यले वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने समेत हरिवंशले उल्लेख गरेका छन् ।

रुइतले लाखौं दृष्टिविहीनलाई उज्यालो छरेको कार्यको मूल्यांकन गर्दै उनलाई राष्ट्रपति बनाउनुपर्ने हरिवंशको तर्क छ । महजोडी र रुइतको तस्वीर सेयर गर्दै हरिवंशले लेखेका छन्, ‘मनमा कुरा घुमिरहन्छ । यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोगसिद्ध सावित गर्नुभयो ।’

हरिवंशले डा. रुइतले गरेका कामको मूल्यांकन गरी उनलाई संसारले नै सम्मान गरिरहेको बताएका छन् । यसै अन्तर्गत उनलाई बहराइन सरकारले दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको छ ।

भारतमा चिकित्साशास्त्र पढेका रुइत एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुन् । उनले सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार जितेका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको थियो । अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटानको उच्च सम्मान नेसनल अर्डर अफ मेरिट प्राप्त गरेका थिए । २०७५ सालमा उनले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पनि पाएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १२:१९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।