Logo

खेलकुद

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । सुदूरपश्चिमले शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराएको हो ।

इटहरीको जनता मावि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १ बल अगावै पूरा गर्यो । खराब सुरुवात गरेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए । सम्झनाले ३३ बलमा २ चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा १ चौका र २ छक्कासहित विष्फोटक २२ रनको योगदान गरिन् । कविता १९ रनमा अविजित रहिन् । सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो । ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुवाती साझेदारी गरेका थिए । रुविना १४ रन बनाएर आउट भएपछि आएकी अप्सरी बेगमसँग मिलेर काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरिन । अप्सरी १५ रन बनाएर आउट भइन् ।

त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । काजल ४८ रनमा अविजित रहिन् । उनले ६३ बल खेलेर ८ चौका प्रहार गरिन् । प्रदेश १ ले १५ अतिरिक्त रन पाएको थियो । सुदूरपश्चिमकी मनिषा चौधरीले २ विकेट लिइन् । श्रतु कनोजियाले १ विकेट लिइन् । प्रदेश १ का दुई ब्याटर रनआउट भएका थिए ।

पुस २९ देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफको सहभागिता थियो । सुदूरपश्चिमले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १६:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।