काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेका जनमत पार्टीका अब्दुल खानलाई दाबी गरेअनुरुपकै मन्त्रालय दिने आश्वासन दिएका छन् । खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने दाबी गरेका भए पनि उनलाई खानेपानी मन्त्रालयको जिम्म दिइएपछि उनी असन्तुष्ट रहँदै आएका छन् ।
उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालय परेको थियो । मन्त्रीको शपथ लिएपनि उनले जिम्मेवारी सम्हालेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्री उनलाई बोलाएर छलफल गरेका थिए । आइतबार साँझ बसेको पार्टीको बैठकमा खानले गरेको ब्रिफिङअनुसार प्रधानमन्त्रीले छिट्टै सहमति अनुसारकै मन्त्रालय दिलाउने आश्वासन दिएका छन् ।
सात दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट गर्दा जनमतका खानको दाबी रेहेको मन्त्रालय नेकपा एमालेको भागमा परेको थियो । सोही अनुसार एमालेले दामोदर भण्डारीलाई मन्त्री बनाएको छ ।
अब भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर खानलाई उद्योगको जिम्मेवारी दिइने समझदारी सत्तारुढ दलहरुभित्र बनेको बताइएको छ । अब तत्कालनै मन्त्रालय साटफेर हुने स्रोतको भनाइ छ ।




















प्रतिक्रिया