Logo

खेलकुद

स्पट फिक्सिङबारे क्यान अध्यक्ष भन्छन् : संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छौं



काठमाडौं । विवादस्पद नेपाल टी–ट्वान्टी लिगबारे क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रुटि भएको स्वीकार गरेका छन् । आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको तर आफूहरुको नियत गलत नभएको उनको दाबी छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उक्त प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानबाट खुलिसकेको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने सीआईबीको तयारी छ ।

यसबारे क्यानले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले अञ्जानमा त्रुटि भएको बताए । उनका अनुसार क्यानले २०२० जनवरीमा एमओयू गरेको थियो भने एक वर्षपछि पहिलो सम्झौता गरेको थियो । राष्ट्रिय खेलकदु परिषद् (राखेप)को अनुमति लिएर मात्र सम्झौता गर्नुपर्नेमा त्यसको पालना नभएको स्वीकार गरेका उनले भने, ‘तर राखेपले अनुमति नदिएसम्म हामीले कुनै पनि काम गरेनौं ।’

सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । ‘श्रम स्वीकृति पनि ढिला भयो । यसले एकपछि अर्को विाद आयो । यसमा आयोजक क्रिकेट संघको पनि त्रुटि रह्यो’, चन्दले भने ।

उनले प्रतियोगितामा नकारात्मक काम मात्र नभएको दाबी गरे । प्रतियोगिता भएको, नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाएको र अरु पनि पाउने क्रममा रहेको उनको दाबी छ । अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको पनि बताए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १६:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।