काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिँदा भएको राष्ट्रिय सहमतिलाई कायम राख्नुपर्नेमा बताएका छन् । पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै उनले निधेषको राजनीति अन्त्य गर्नु अहिलेको आवश्यता भएको बताए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिने बेलामा देखिएको राष्ट्रिय सहमतिलाई जिम्मेवार भएर राष्ट्र निर्माणका लागि कायम गरेर जानुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले बताए । कठिन अवस्थामा बनेका राष्ट्रिय सहमतिलाई इमानदारीपूर्वक प्रस्तुत गर्ने प्रचण्डकाे भनाइ थियाे ।
राजनीतिक दलहरुमा अहिलेसम्म एउटाले अर्कोलाई निषेध गर्ने, परास्त गर्ने, धोकाधडी दिने संस्कार रहेकाले गर्दा राष्ट्रले धेरै दुःख पाएको प्रचण्डको भनाइ थियो ।
नेकपा एमालेसहित ७ दलकाे समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासकाे मत लिएका थिए । त्यसबेला संसद्बाट उनले प्रतिपक्ष दल नेपाली कांग्रेसहितकाे असाधारण विश्वास प्राप्त गरेका थिए । आफूलाई राष्ट्रिय सहमतिकाे प्रधानमन्त्री दाबी गर्दै प्रचण्डले अहिले सत्तारुढ दलहरुबीच नै अविश्वास पैदा हुने खालका अभिव्यक्ति दिँदै आएका छन् ।
निकट भविष्यमा हुने राष्ट्रपति पदकाे निर्वाचनलाई लिएर प्रचण्डसँग सत्तासाझेदार एमाले सशंकित बनेकाे छ । यस्ताे बेलामा प्रचण्डले उक्त आशंकालाई थप मलजल पुग्ने गरी ‘राष्ट्रिय सहमतिलाई जाेगाउने’ भन्दै स्थायी कमिटीमा ब्रिफिङ गरेका हुन् । यसअघि बालुवाटरमै सम्पादकहरुसँगकाे अन्तर्क्रियामा पनि उनले राष्ट्रपति पदका बारेमा कांग्रेससँग पनि छलफल गर्ने बताएका थिए ।
त्यसयता आफ्नाे भागमा परेकाे राष्ट्रपति पद गुमाउनुपर्ने पाे हाे कि भन्ने आशंकामा एमाले नेताहरुमा छ । उता प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिएकाे कांग्रेसले केही सत्तारुढ दलहरुकै सहयाेगमा राष्ट्रपति आफूले फुत्काउने दाउ हेरिरहेकाे छ ।




















प्रतिक्रिया