काठमाडौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ । बिहीबार गृहका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य छन् ।
समितिले सामाजिक सञ्जालमा आचार्यले उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । साथै सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ । आचार्यले फेसबुकमा आफूले ऋण तथा उधारोका कारण व्यवसायी चलाउन नसकेको बताएका थिए भने उनले विभिन्न व्यक्ति तथा समूहलाई नाम नै उल्लेख गरेर आरोप लगाएका छन् ।
मंगलबार संसद् भवन अगाडि आफैँमाथि पेट्रोल खन्याएइर आगो लगाएका आचार्यलाई उद्धार गरेर घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर ८० प्रतिशत आगोमा शरीर जलिसकेका उनको उपचारकै क्रममा मृत्यु भयो । त्यसपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठक उनले उठाएका विषयमाथि छानबिन गर्ने निर्णय गर्दै त्यसको जिम्म गृह मन्त्रायलाई दिएको थियाे । साेहीअनुसार गृहले बिहीबार छानबिन समिति बनाएकाे हाे ।




















प्रतिक्रिया