Logo

प्रमुख समाचार

‘रविमा देशप्रति बफादारिता छैन भन्ने कुरा पटक-पटक राज्यलाई ढाँट्नु र छल्नुले पुष्टि गरेको छ’



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलेमा देशप्रतिको बफादारिता नरहेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले तर्क गरेका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा‍. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संलग्न संवैधानिक इजलासमा भण्डारीले यो कुरा नेपालको राज्यसंयन्त्रलाई लामिछानेले पटक–पटक ढाँट्नु र छल्नुले देखिएको बताए ।

‘रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ’, वरिष्ठ अधिवक्ता भण्डारीले भने । लामिछानेको पक्षमा वकालत गरेका सहन्यायाधिवक्ता संजीव रेग्मी र निजी वकिलहरूले राखेका तर्कको जवाफी बहसका क्रममा रिट निवेदकका तर्फबाट भण्डारीले राज्यको नजरमा सबै नागरिक समान हुनुपर्ने तर्क राखेका हुन् ।

‘उहाँले इमानदारिता देखाउनुभएको छैन । उहाँ अमेरिका अध्ययन गर्न गएको भन्नुभएको छ, उहाँको भिडियो मसँग छ । तर भर्खरै के भन्नुभएको छ भने आइएसम्म पढेको भन्नुभएको छ । अमेरिका गएर पढेको छैन भन्नुभएको छ’, भण्डारीले थपे, ‘उहाँले हरेक कुरामा राज्यलाई छल्ने, गलत सूचना दिने गर्नुभएको छ । यस्तो किसिमको व्यक्तिको निष्ठा र आस्था छ भन्ने हुँदैन ।’

लामिछानेलाई कानुनले विशेष छुट दिन नहुने तर्क पनि वरिष्ठ अधिवक्ता भण्डारीको छ । उनले प्रत्येक नागरिकलाई कानुनले समान रूपमा हेर्ने भन्दै इजलासले रवि लामिछाने सांसद बन्न अयोग्य रहेको ठहर गर्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १३:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।