Logo

राजनीति

खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल



काठमाडाैं । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा उनले मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सीपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गासिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्वपूर्ण हुने उल्लेख गरिन् । अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताइन् । पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उनले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा ‘नारमिन’ का महासचिव खीमबहादुर थापा, राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेल, महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीलगायतले खाद्य सुरक्षा विषय र समाधानका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सरोकारवाला विज्ञ सम्मिलित समूहगत छलफल हुनुका साथै नेपालको खाद्य सुरक्षा र अधिकारको अवस्थाका बारेमा विभिन्न प्रस्तुति गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार २१:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।