काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न समयमा असहमति जनाउँदै पार्टी छाडेका तथा पार्टीमै रहेर पनि अध्यक्षकाे कदमविरुद्ध फरक मत राख्नेहरुलाई एकीकृत समाजवादीमा ल्याउन अध्यक्ष माधव नेपाल लागिपरेका छन् । अध्यक्ष नेपालले ओलीसँग असन्तुष्टि जनाउँदै ४ मंसिरकाे आनिर्वाचन अघि एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याइसकेका छन् ।
अध्यक्ष नेपालले अब क्रमशः वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् । घनश्यामपछि अहिले वामदेवलाई पार्टीमा भित्र्याउन उनी लागिपरेका छन् । वामदेव पनि एकीकृत समाजवादीमा आउन तयार भएका छन्, तर उनले त्यसका लागि केही सर्त अघि सारेका छन् । केही दिनअघि अध्यक्ष नेपालसँग भएकाे भेट्मा वामदेवले केही सर्त अघि सारेका एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।
उनका अनुसार माधव नेपालसमक्ष वामदेवले राखेका पहिलो सर्त हो– जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने । एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद–लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।
यसैगरी उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्ने विषयलाई दोस्रो सर्तका रुपमा अघि सारेका छन् । तेस्रो सर्तका रुपमा वामदेवले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन् ।
तत्कालीन नेकपा विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् । अहिले वामदेवका यी सर्तमा प्रतिबद्धता जनाउन कुनै अप्ठ्यारो नरहेको समेत एकीकृत समाजवादीका नेताहरुको भनाइ छ ।




















प्रतिक्रिया