Logo

प्रमुख समाचार

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी




काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताए ।

“स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सरकारमा सहभागी भएका छौँ,” उनले भने, “स्वास्थ्य क्षेत्रमा धेरै विसङ्गति र विकृति छन् । त्यसलाई हटाउन हामी डटेर लाग्छौँ । स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गरेर परिवर्तन गरिने छ ।” मन्त्री गिरीले स्वास्थ्य पत्रकारलाई स्वास्थ्य क्षेत्रका विसङ्गति र विकृतिविरुद्ध कलम चलाउनसमेत आग्रह गरे ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवा जनतामाझ पुर्‍याउनका लागि लागिपरेको बताउनुभयो । यस्तै सांसद निशा डाँगीले जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने उल्लेख गरे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विभागले जनतालाई कसरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जनातको स्वास्थ्यबारे खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार १३:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।