शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका संयन्त्रले पाठ्यपुस्तकमा आधारित सिकाई सामाग्री उत्पादन तथा प्रसारण गर्दै आएको छ । शिक्षक तथा विद्यार्थीहरुका लागि उपयोगी पाठ्य सामाग्री डिजिटल रुपमा प्राप्त गर्ने सुविधा भए पनि विद्यार्थी, शिक्षक तथा अभिभावकलाई यसबारे खासै ज्ञान भएको पाईँदैन ।
प्रायः सामुदायिक तथा सरकारी विद्यालयमा शिक्षकले पुरानै शैलीमा एकोहोरो पढाउने र विद्यार्थीलाई घोकाउने शिक्षा दिइरहेका हुन्छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण सिकाईँमा थप सहजता ल्याउन प्रविधिमैत्री शिक्षण सामाग्रीहरु उत्पादन तथा वितरण गर्दै आएको छ ।
मन्त्रालयको मातहतका संयन्त्रले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तकमा आधारित सिकाईँ सामाग्रीहरु विद्युतीय माध्यमबाट विभिन्न साइट, फेसबुक पेज, युट्युव तथा रेडियो र टेलिभिजनबाट पनि प्रसारण गर्दै आएको छ ।
पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा पाठ्यक्रम, पाठ्यपुस्तक सहायक पाठ्य सामग्रीहरु लगायत इ लाइब्रेरी पनि उपलब्ध छ । भौतिक कक्षामा पढाइने सबै पुस्तकहरुको डिजिटल प्रतिलिपी पनि पाठ्यक्रम विकास केन्द्रको वेवसाइटको इ लाइब्रेरीबाट प्राप्त गर्न सकिन्छ ।
सिकाइ चौतारी नेपालको वेबसाइट र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटबाट पनि श्रव्य पाठहरु, श्रव्यदृष्य पाठहरु, डिजिटल किताब, डिक्सनरी र अन्य अडियो तथा भिडियो सामग्रीहरु विद्यार्थी तथा शिक्षकले प्राप्त गर्न सक्छन ।
त्यस्तै कक्षा १ देखि १० सम्मका पाठ्य सामाग्रीको श्रव्यदृश्य सामाग्री सरकारी टेलिभिजन एनटिभि प्लसमा बिहान ६ बजेदेखि साढे आठ बजेसम्म र साँझ साढे ४ बजेदेखि ७ बजेसम्म प्रशारण हुने मन्त्रालयले जनाएको छ ।
यी सामाग्रीहरु युट्युब र फेसबुक पेजमा समेत हेर्न मिल्ने गरी राखिएको छ । रेडियो नेपालबाट सोमबारदेखि शनिबारसम्म साँझ ५ बजेर १५ मिनेट देखि ५ बजेर ४५ मिनेटसम्म र साँझ ८ बजेर २५ मिनेटदेखि ८ बजेर ५५ मिनेटसम्म कक्षा १ देखि कक्षा १२ सम्म पाठ्यपस्तकमा आधारित पाठ्यसामाग्रीहरु प्रसार हुने गरेको छ । मन्त्रालयले आइसीटी प्राप्त गरेका विद्यालयहरुले अनिवार्य रुपमा इ लाइब्रेरी व्यवस्था गर्न निर्देशन पनि दिएको छ ।





















प्रतिक्रिया