Logo

खेलकुद

आईसीसी क्रिकेट विश्वकपमा स्कटल्याण्डमाथि नेपालको शानदार जित




काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको शानदार जित हासिल गरेको छ । कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटसँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ ।

लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । नेपालले २१३ रनको लक्ष्य ४४।१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । रोहितले अविजित ९५ रन बनाए । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए । दुबैले नवौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे । नेपालले लिग टू मा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गरे ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए । नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६।१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । क्वालिफायर प्लेअफमा लिग टू का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १७:१०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।