काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । नेपालले यूएईको अजमानमा टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गर्ने क्रममा सिंगापुर १६५ रनमा समेटिएपछि नेपालले शानदार जित निकालेको हो । सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रन बनाए । नेपालबाट हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिए । विशालविक्रम केसीले १ विकेट लिए ।
यसअघि आकाश त्रिपाठी र विशालविक्रम केसी अर्धशतक बनाएपछि नेपालले मजबुत स्कोर बनाएको थियो । आकाशले १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जतिखेर नेपालको स्कोर १ सय ४५ रन थियो । दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालसँग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए ।
कप्तान देव खनालले २१ रन बनाए । उनले २६ बल खेली १ चौका प्रहार गरे । दीपक बोहरा ‘बी’ १५ बल खेली दुई चौका प्रहार गर्दै १७ रनमा आउट भए । दीपक डुम्रे १० ररनमा आउट भए भने मिलन बोहराले ४ रनमात्र बनाउन सके ।
मध्यक्रमलाई सम्हालेर खेलेका विशालले अविजित ६३ रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे । सिंगापुरका अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिए । नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्ने छ ।




















प्रतिक्रिया