Logo

खेलकुद

नेपालको अपराजित यात्रा कायमै, मलेसिया १० विकेटले पराजित



काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो । मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए । आकाश चन्दले ४ दशमलब ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । आकाशले २७ बल बलिङ गरेकोमा २० बल डट राखेका थिए ।

मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४८ बल डट राखेका थिए । सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४० बल डट राखेका थिए।

२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिएको हो। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

अन्तिम खेलमा तथा निर्णायक खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार २०:११   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।