Logo

प्रमुख समाचार

प्रदेश-१ काे नामकरण अघि विराटनगरमा निषेधाज्ञा जारी



मोरङ । प्रदेश १ को नामकरणको विषयलाई लिएर हुन सक्ने धर्ना तथा विरोध प्रदर्शनलाई रोक्न विराटनरमा निषेधाज्ञा जारी गरिएको छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचनामा उल्लेख गरेका छन् ।

उक्त सूचनाअनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

कांग्रेस र एमालेले प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिसकेका छन् भने पहिचानसहितको नामको पक्षमा रहेको माओवादी केन्द्र पनि अन्ततः एमाले कांग्रेसकै प्रस्तावको पक्षमा उभिएको छ । यता नेकपा एस र जसपाले भने ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १४:०६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।