नेपाली क्रिकेटको सिनियर र यू-१९ टोली आज युएईसँग भिड्दैछन् । यूएईमै हुने खेलमा नेपालको उमेर समूह र सिनियर दुवै टोलीले विश्वकप छनोटको लागि प्रतिस्पर्धा गर्दैछन् ।
अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ । ६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैल नेपालका लागि यू-१९को टोलीले खेल जित्नैपर्ने अवस्था छ ।
उता नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा पुगेको छ । जसमा सन्दिप लामिछानेले पनि खेल्ने सम्भावना बलियो छ । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ । लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालको सिनियर टोलीले यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।
यस खेल जितेमा नेपालको ३० खेलबाट ३० अंक हुनेछ र नेपाल यूएईलाई पछि पार्दै ७ राष्ट्र सहभागी लिग टु मा पाँचौ स्थानमा समेत उक्लनेछ ।
नेपालको सिनियर टोलीले अब ७ खेल खेल्न बाँकी छ । जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ । यूएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । यूएई शृङ्खलाको पहिलो खेलमा पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।




















प्रतिक्रिया