दसैंको सार्वजनिक बिदामा बैंकहरु नखुल्ने भएका छन् । बैंकहरुले विगतमा दसैंको सार्वजनिक बिदामा पनि केही सीमित शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका थिए । तर यो वर्ष भने बैंकहरुले बिदामा बैंकिङ सेवा प्रदान नगर्ने भएका हुन् । कोरोना संक्रमण बढ्दो रहेको र एटिएम तथा डिजिटल च्यानलबाट काम भइरहेको बेला बैंक खोल्ने पर्ने बाध्यता नरहेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताएका छन् ।
अध्यक्ष दाहाल यो वर्ष दसैं बिदामा बैंकिङ सेवा प्रदान हुने सम्भावना नरहेको बताउँदै भने “कोरोना संक्रमण पछि बढ्दै गएको र बैंकमा ग्राहकको चहलपहल पनि कम हुँदै गएको तथा बैंकहरुको एटीएम पनि चलेको र डिजिटल च्यानल पनि भएकाले खोल्न आवश्यक छैन भन्ने कुरा आएको छ,” “हाम्रा शाखाहरुबाट पनि ग्राहकको भिड कम भएको कुरा आएको छ, एटीएम चलिहाल्छ, डिजिटल च्यानल छँदै छ, २–४ जना ग्राहकका लागि काउन्टर नै किन खोल्नु हामी व्यवस्थापन गर्छौं भन्ने प्रतिक्रिया शाखाबाट आएको छ, त्यसैले यो वर्ष दसैं बिदामा बैंक खोल्न जरुरीजस्तो देखिँदैन ।”
बैंकहरुमा कोभिडको संक्रमण बढेको अवस्थामा यो बिदाले पनि नियन्त्रणमा केही सहज हुने बैंकर्श संघले जनाएको छ । साथै यसले डिजिटल बैंकिङलाई प्रोत्साहन गरेको अवस्थामा सार्वजनिक बिदामा ठूलो कारोबार नहुने र डिजिटल कारोबार बढ्ने छ अध्यक्ष दाहालले बताए । उनले सानो कारोबार डिजिटल च्यानलबाटै गर्न सकिने अवस्थामा दसैं बिदामा बैंकहरुले काउन्टर नखोल्ने भएको बताए ।
नेपाल राष्ट्र बैंकसँग समन्वयन भइरहेकाले राष्ट्र बैंकको स्वीकृतिपछि संघले जानकारी गराउने पनि उनको भनाई छ । बैंकिङ सेवा बन्द गर्दा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने भएकाले छलफलपछि निर्णय गरिने उनको भनाइ छ । एटीएम र डिजिटल च्यानलबाट कारोबार गर्नसमेत उनले सबैलाई आग्रह गरे ।
यद्यपी बैंकर्स संघले औपचारिक रुपमा निर्णय भने अझै गरिसकेको छैन ।





















प्रतिक्रिया