Logo

प्रमुख समाचार

सौहार्दपूर्ण सम्बन्ध विकासका लागि एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य : नेकपा एस



काठमाडों । नेकपा एकीकृत समाजवादीले आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाउँदै आएको नेकपा एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको बताएको छ । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको प्रतिनिधिमण्डलसँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उपमहासचिव खतिवडाले, ‘नेकपा एमालेले हाम्रो अस्तित्वमाथि अनेकौँ पटक अनेकौँ कुरा भनेको छ । तर त्यही पार्टीले पार्टी केन्द्रीय कार्यालयमा आएर औपचारिक कुराकानी गर्नु त खुसीको कुरा नै हो । बल्लबल्ल दुई पार्टीबीच भेटघाट भएको छ । सौहार्दपूर्ण सम्बन्ध र मित्रता विकास गर्नका लागि एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य छ ।’

बिहीबार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उपाध्यक्ष नेम्वाङ अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याललगायतका नेताहरुसहित नेकपा एसको कार्यालय आलोकनगर पुगका थिए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ३ : १६ बजे