Logo

राजनीति

प्रधानमन्त्री प्रचण्डकाे स्पष्टीकरण : ओलीले संसद विघटन ठीक भनेपछि नयाँ विकल्प खोज्यौं



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संसद विघटन ठीक थियो’ भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले नयाँ विकल्प खोजेको स्पष्ट पारेका छन् । उनले २६ पुसमा आफूले विश्वासको मत लिने दिन एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूलाई आशंका भएको बताए ।

बिहीबार दिउँसो राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो । हामी संसद विघटनको विपक्षमा थियौँ । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ’ उनले भने ।

प्रचण्डले राष्ट्रपति निर्वाचनमा प्रभु शाहको आम आदमी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पनि समर्थन रहेको बताए । आफूले नेपाली कांग्रेससहित दलबाट विश्वासको मत पाएपछि कांग्रेस उम्मेदवारलाई राष्ट्रपति प्रस्ताव गर्न एमाले अध्यक्ष ओलीलाई भनेको तर उनले नमानेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ४ : ५८ बजे