Logo

प्रमुख समाचार

केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गर्ने बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टको बृहत्तर एकताका निम्ति बहस सुरू गर्ने बताएका हुन् ।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ ।’

‘माओवादी धारका कम्युनिष्ट घटकबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलाप आयोगका माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । त्यसपछि केही दिनमा समाजवादी मोर्चा बन्छ’, प्रधानमन्त्री प्रचण्डले बताए ।

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने उनको भनाइ छ । एमालेको मूल नेतृत्व कम्युनिष्ट एकताको विरूद्धमा रहेको उनको बताए । उनले भने, ‘नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन् ।’

प्रधानमन्त्री प्रचण्डले त्यस्तो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताए । माओवादी धार र सच्चा वामपन्थीको एकताका निम्ति आफूहरुले नेतृत्व लिनुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले नेता कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए । बैठकमा मधेस प्रदेशका केन्द्रीय सदस्य र शीर्ष नेताको सहभागिता थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १६:५८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।