काठमाडौं । यूएईमाथि १७७ रनको शानदार जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेलमा नेपालले यूएईविरुद्ध घातक बलिङ गर्यो ।
याे जितसँगै नेपालकाे ओडिआई मान्यता जाेगियाे भने हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ । यसैगरी अमेरिकाको ओडीआई मान्यता पनि जोगिएको छ । नेपालले लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।
टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा असओन्था भाल्थापाले १४ रन बनाए । कार्तिक मैयप्पनले ११ तथा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ललित राजवंशीले ५ विकेट लिए ।
नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपाली ब्याटर पूरै ५० ओभर ब्याटिङ टिक्न सकेनन् । कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । ११२ बल खेलेका उनले ९ चौका हाने । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।
ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।
भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए । रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । गुल्शन र दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे । ४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए ।
त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने २ रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९ औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा २ रनमा आउट भए ।
सात देश सम्मिलित लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा उक्लिएकाे छ । उता, युएई भने ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेर ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पाँचाैं स्थानमा सबै खेल खेलिसकेकाे अमेरिका छ ।




















प्रतिक्रिया