Logo

प्रमुख समाचार

रामचन्द्रलाई राष्ट्रपति जिताएपछि दंग कांग्रेस, उपसभापति भन्छन्– ‘लयमा फर्कियौं’



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी नछाड्दा तोडिएको माओवादीलगायतका दलहरुसँगको गठबन्धन पुनः जोडिएसँगै रामचन्द्र पौडेल राष्ट्रपति बने । विगतमा १७ पटसम्म प्रधानमन्त्रीको दौडबाट पाछारिएका पौडेल पहिलो प्रयासमै राष्ट्रपति बनेपछि कांग्रेस अहिले दंग छ भने डेढ महिनामै एमाले नेतृत्वको गठबन्धन तोडेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कृतज्ञ छ ।

यो ‘खुशी र कृतज्ञता’ कांग्रेस उपसभपति पूर्णबहादुर खड्काले आज (बुधबार) बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा ब्रिफिङका क्रममा व्यक्त गरेका हुन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा उनले पुस १० मा गठबन्धन जोगाउन नसके पनि राष्ट्रपतिमा आफ्नो वरिष्ठ नेता पौडेललाई जिताएर पार्टी लयमा फर्किएको बताए ।

बैठकको सुरूवातमै सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषय उपसभापति खड्कालाई जानकारी गराउन भनेका थिए । त्यसपछि पुस १० गतेको घटनाक्रमबारे उपसभापति खड्काले भने, ‘पुस १० गते परिस्थितिले गठबन्धन जोगिएन । तर, फेरि हामी लयमा फर्किएका छौं । रामचन्द्रजीलाई राष्ट्रपति बनाउन सफल भयौं । अब हामी गठबन्धनमा छौं । गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो ।’

माओवादी अध्यक्ष प्रचण्ड एमाले, राप्रपासहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेलादेखि कांग्रेस प्रतिपक्षी बेञ्चमा छ । कांग्रेसले पुस २६ मा भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । त्यसको डेढ महिनामा कांग्रेस–माओवादीसहितको ९ दलीय गठबन्धन बनेको हो । राप्रपा र एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस पनि सरकारमा सहभागी हुने छ भने अन्य दल पनि सरकारमा जाने तयारीमा छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १३:५५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।