काठमाडौं । पूर्वमन्त्री गोपाल किराती ‘देशभक्त समाजवादी यात्रा’ मा निस्केका छन् । जनसंवाद गर्दै पूर्व पाँचथरदेखि भक्तपुरसम्म पैदल यात्रा गर्ने उनले बताएका छन् । उनी नेतृत्वको टोलीले बुधबार (आज) बाट पाँचथरको फिदिमदेखि समाजवादी यात्रा सुरू गरेका हुन् ।
प्रदेश नं. १ को नाम ‘कोशी’ राखिएसँगै उठेका पहिचानवादी आन्दोलनहरूमा ऐक्यबद्धता जनाउँदै आफूले समाजवादी यात्रा सुरू गरेको पूर्वमन्त्री किरातीले बताएका छन् ।
‘खासगरी मधेस प्रदेश नामाकरणबाट पूर्वका आदिवासी र प्रगतिशीलहरू उत्साहित थिए कि, पूर्वमा पनि ऐतिहासिक बसोबास र सामुदायिक पहिचानको आधारमा प्रदेश नामाकरण गरिन्छ । तर, दलाल पुँजीवादी र गोर्खाली अन्धराष्ट्रवादी दल तथा त्यसका सांसदहरूले कौशिक ऋषिको नामबाट बनेको भनिने कोशी प्रदेश नामाकरण गरेर आदिवासी जनता तथा प्रगतिशीलहरूको भारी अपमान गरेका छन् । प्रतिवादमा विभिन्न संघ(सङ्गठन र प्रगतिशील जनताले आन्दोलन उठाएका छन् । त्यस न्यायपूर्ण आन्दोलनमा दृढ ऐक्यबद्धता जनाउँदै हामीहरू पाँचथरको फिदिम पुगेका हौँ,’ किरातीले भनेका छन् ।
उनले यात्राका क्रममा मूलतः ‘अब के गर्ने ?’ भन्ने प्रश्नको जवाफ खोज्ने बताएका छन् । ‘सडक आन्दोलन पनि जारी राख्नुपर्छ र दीर्घकालीन तयारी पनि सँगसँगै गर्नुपर्छ,’ किरातीले भनेका छन्, ‘दीर्घकालीन र कठोर प्रकारको नवीन राजनीतिक तयारीमा केन्द्रित भएर नै हामीले आदिवासी जनता र प्रगतिशीलहरूको राज्यव्यवस्था स्थापित गर्न सम्भव हुनेछ । पाँचथर–भक्तपुर जनसंवाद यात्रा त्यही दीर्घकालीन तयारीमा केन्द्रित एउटा अभियान हो ।’
जनसंवादबाट प्राप्त हुने जवाफ, योजना र निष्कर्ष भने समापन समारोहमा पेश गरिने उनले बताएका छन् । किरातीले पहिचानका आधारमा नाम नराखिएका प्रदेशहरू खारेजको मागसमेत गरेका छन् । ‘देशभक्त समाजवादी यात्रा २०७९’ नाम दिइएको पर्चामा भनिएको छ, ‘आदिवासी पहिचानविरोधी मण्डले प्रदेशहरू खारेज गरौँ, संविधान पुनर्लेखन कार्यसूचीको जनविद्रोह तयारीमा जुटौँ ।’
यसअघि २०७६ सालमा पनि किरातीले पूर्वपश्चिम यात्रा गरेका थिए ।




















प्रतिक्रिया