काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राखेका प्रस्तावको पक्षमा १७२ मत खस्याे । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै ‘मत दिन्न’ भन्ने पक्षमा नेमकिपा उभियो ।
यो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत भएकोले उनले विश्वासको मत प्राप्त गर्न सफल भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । गत पुस १० गते ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एमाले, राप्रपाले समर्थन फिर्ता लिएपछि सोमबार पुनः विश्वासको मत लिएका हुन् । यसअघि पुस ११ मा शपथ लिएका उनले पुस २६ मा विश्वासको मत लिएका थिए ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड लाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।




















प्रतिक्रिया