Logo

राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत



हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत पर्‍यो भने ७ जना सांसद तटस्थ बसे ।

मुख्यमनत्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १०५ सांसदको विश्वासको मत प्राप्त गरेका थिए भने प्रदेश सभामा उपस्थित सात मध्ये छ दलको समर्थन थियो । नेमकिपाका ३ सांसदले मात्र उनलाई विश्वासको मत दिएका थिएनन् ।

तर शुक्रबार उनलाई माघ ३ गते विश्वासको मत दिएका दलहरु नेकपा एमाले र राप्रपाले मत दिएनन् । अब प्रदेश सभामा नेकपा एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा रहनेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १६:१४   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।