काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले उपराष्ट्रपति निर्वाचनमा महिलाको अधिकार खोस्ने काम भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपराष्ट्रपति निर्वाचनको सवालमा महिला सांसदहरू पनि आफूले संविधानबाट पाएको अधिकार समेत लिन नसक्ने अवस्थामा पुगेका उनको ठहर छ ।
सांसद राउतले महिला सांसदहरूले नै आफूलाई प्राप्त संविधानको अधिकार प्राप्त गर्न नसकेको अवस्थामा सर्वसाधारणले कसरी पाउने भन्दै प्रश्न गरे । ‘संविधानको अभ्यास गर्ने उच्च थलो संसद् हो । यसमा संविधानको धारा ३८ (४) मा महिलाको व्यवस्था हुँदाहुँदै पनि उपराष्ट्रपचति नर्वाचनमा महिलाको अधिकार खोस्ने काम गरियो । त्यो सवालमा महिला सांसदहरू पनि आफूले संविधानबाट पाएको अधिकार समेत लिन नसक्ने अवस्था देखियो । त्यसप्रति दुःख लागेको छ’, उनले भने, ‘संविधानबाट पाएको अधिकार सांसदहरूले लिन सक्दैनन् भने जनताले कसरी पाउँछन् भन्ने कुराको चिन्ता लागेको छ ।’
सांसद राउतले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए । उनले निश्चित व्यक्तिलाई लक्षित गरेर बारा(२ मा तत्काल निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाएका हुन् ।
बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० मा उपनिर्वाचन गर्ने आयोगले घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रमा जसपा अध्यक्ष यादव उम्मेदवार बन्ने चर्चा चलेका बेला गठबन्धनमा रहेका नेता राउतले त्यसप्रति संसद्मा नै आपत्ति जनाएका हुन् ।
राउतले बारा–२ लगायत उपनिर्वाचन हुने क्षेत्रमा निर्वाचन निष्पक्ष हुनुपर्ने बताए । उनले सरकारले त्यस्ता निर्वाचनमा बल प्रयोग लगायतका कुरा गर्न नहुने र निर्वाचन आयोगमाथि कुनै पनि प्रकारको दबाब सिर्जना गर्न नहुने बताए ।




















प्रतिक्रिया