Logo

प्रमुख समाचार

संसदमा एमाले सचेतक बर्तौताको नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काले मागे माफी



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिएपनि सत्तापक्षका सांसदबाट त्यसको उलङ्घन भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै उल्लेख गर्दै भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटक पटक मर्यादा विपरीत काम भइरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन । पटक पटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ । सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भइरहेको छ । म गम्भीरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस् । यही विषय राख्न चाहन्छु ।’

त्यस लगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराए । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भए अनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उलङ्घन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’ प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नहुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १७:१८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।