Logo

नक्कली प्रेस कार्ड बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो



कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार सम्मको लागि निषेधाज्ञा लगाएको छ। यस अवधिमा नेपाल सरकारले अत्यावश्यक कामको लागि, चिकित्सक, बैंकका कर्मचारी, पत्रकार लगायतलाई मात्र हिँडडुल गर्न अनुमति दिएको छ। चेकिङ गर्न बसेका प्रहरी तथा ट्राफिक प्रहरीले पनि स्वास्थ्यकर्मी, पत्रकार, बैंकका कर्मचारी लगायतलाई कार्यालयको कार्ड हेरेर छाड्ने गरेको छ। कुनै रोकतोक लगाएको छैन ।

यही मौका छोपी चार जनाको समूहले नक्कली कार्ड बनाएर बेच्न थाल्यो । दिनहुँ प्रेस कार्डको दुरूपयोग बढेको भन्दै विशेष सूचना आएपछि महाशाखाले अपरेसन थाल्यो । फलस्वरूप सोमबार साँझ प्रहरीले काठमाडौं महानगर – २८ बागबजारबाट नक्कली कार्ड बनाउने प्रिन्टिङ प्रेसका सञ्चालकसहित चार जनालाई पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी सुस्ता बर्दघाट नगरपालिका – १३ का ३५ वर्षीय लक्ष्मण न्यौपाने, कावासोती नगर – ८ का २९ वर्षीय रमेश कुमार रेग्मी, बर्दिया राजापुर – १० का २३ वर्षीय श्रीराम खड्का र स्याङ्जा जगत्रदेबी गाउँपालिका – ९ का ३९ वर्षीय राजेन्द्र राज भण्डारी छन् ।

प्रहरीले लक्ष्मण न्यौपानेको कालिका प्रिन्टर्स स्पोर्टस प्रा.लि.मा छापा मारेको थियो । त्यहाँबाट प्रहरीले प्रेस लेखेका कार्ड, अस्पतालका कार्ड तथा अन्य नक्कली कार्डहरू बरामद गरेको छ । महाशाखाले पनि प्रेस कार्डको दुरूपयोग बढेको भन्दै यो अपरेसन थालेको एसपी ईश्वर कार्कीले जानकारी दिए ।

उनीहरूले नक्कली कार्ड ५ सय वा सोभन्दा बढीमा बेच्ने गरेका थिए । उनीहरूले विशुद्ध पैसा कमाउने उद्देश्यले यो काम थालेका रहेछन् । निषेधाज्ञाको समयमा सर्वसाधरणले पनि हिँडडुल गर्न सहजता खोजिरहेका थिए, उनले भने,त्यही मौकामा पैसा कमाउने अवसर हो भन्दै प्रिन्टिङ प्रेस भएको हुँदा यस्तो काम गर्न थालेका हुन् ।

प्रहरीले उनीहरूबाट करिब ३०/३५ वटा भन्दा बढी छन् । यसरी नै थुप्रैले नक्कली कार्ड बोकेर हिँडेको हुनुपर्ने आशंका गरिएको छ । उनीहरूले प्रेस कै नाममा कार्ड बनाए पनि अधिकांश कार्डहरू प्रिन्टिस प्रेसकै रहेको एसपी कार्कीले बताए ।

माथि ठूलो अक्षरमा उनीहरूले प्रेस भनेर लेखे तर तल पट्टि उनीहरूले कुनै प्रिन्ट गर्ने प्रेसको पाइएको छ, उनले भने, यस्तो सबै घाँटीघाटीमै झुण्ड्याएको हुन्छन् । यसको लागि ट्राफिक प्रहरीले नै नयाँ अपरेसन सुरू गर्नुपर्ने देखिन्छ। चेकिङ गर्दा पनि प्रहरीले भौतिक दूरी कायम गरी काम गर्नुपर्ने हुन्छ । जसकारण ठूलो अक्षरमा लेखिएका कुरा मात्रै ध्यान दिइने गरेको छ ।

यता महानगरीय प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले पनि प्रेस नाममा दुरूपयोग भएको बढेको भन्दै चेकिङमा कडाइ गरिने बताए । विगतमा पनि हामीले नक्कली कार्ड दुरूपयोगको बारेमा ध्यान दिएका थियौं । हाम्रो अनुसन्धान गर्ने निकायलाई पनि सक्रिय बनाउछौं र अब चेकिङ गर्ने काम कडा हुन्छ, एसएसपी ढकालले भने ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ४ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।